फिल्म । नेपाली फिल्म ‘गौँथली’ ले देशभरबाट १५ करोड रुपैयाँ बढी ग्रस कमाइ गरेको छ । यस अवधिसम्म फिल्मका ५ लाख ६३ हजार बढी टिकट बिक्री भएका छन्।हलिउड फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ को प्रदर्शनबीच पनि ‘गौँथली’ले उत्कृष्ट व्यापार कायम राख्दै नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने फिल्मको सूचीमा आफूलाई अगाडि बढाउन सफल भएको छ ।
‘गौँथली’ ले लगातार दर्शकको साथ् पाउँदै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा ८ औँ स्थान बनाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ र दर्शकको निरन्तर साथ रहेमा फिल्मले छिट्टै २० करोड रुपैयाँ ग्रस कमाइको आँकडा पार गर्ने अपेक्षा गरिएको छ।
डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण, सिम्रन, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।










