‘कमला मिस’ को प्रिमियर हेर्नेले के भने ?

फिल्म । विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’ को राजधानीस्थित जयनेपाल हलमा प्रिमियर सम्पन्न भएको छ । कार्यक्रममा सहभागी फिल्मकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले फिल्मको विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको प्रशंसा गरेका छन्।

बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, मायापछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले जीवनमा भोग्नुपरेका संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया रहेको छ। पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई फिल्मले प्रभावकारी ढंगले चित्रण गरेको उनीहरूको भनाइ छ।

प्रिमियरमा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, फिल्मकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले ‘कमला मिस’ मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिएका छन्।

विशेष विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले बालमनोविज्ञान, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई फिल्मले संवेदनशील ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै हरेक शिक्षक, अभिभावक र विद्यार्थीले एकपटक अवश्य हेर्नुपर्ने फिल्म भएको बताए।

वरिष्ठ कलाकार निर शाहको निर्देशनमा बनेको ‘कमला मिस’लाई साहित्य, समाज र शिक्षालाई फिल्ममार्फत जोड्ने अर्थपूर्ण प्रयासका रूपमा पनि हेरिएको छ। प्रिमियरमा सहभागी अधिकांश दर्शकले फिल्मले भावुक बनाउनुका साथै जीवनका महत्त्वपूर्ण पक्षबारे गम्भीर रूपमा सोच्न बाध्य बनाएको प्रतिक्रिया दिएका छन्।

फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको फिल्मका कार्यकारी निर्माता चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई हुन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर रहेका छन्। फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार गरेका हुन्।

कमेन्ट गर्नुहोस्