सुरु भयो फिल्म ‘पाँच पाण्डव’ को छायांकन

फिल्म । काली रानी फिल्म्सको ब्यानरमा निर्मित फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु भएको छ । सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) मुख्य भूमिकामा देखिनेछन् । यी कलाकारहरूले नै फिल्मका शीर्ष पात्र ‘पाँच पाण्डव’को भूमिका निर्वाह गर्ने निर्माण पक्षले जनाएको छ । शीर्षक ‘पाँच पाण्डव’ भए पनि फिल्म कुनै धार्मिक वा पौराणिक कथामा आधारित भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा सामाजिक कथावस्तुमा आधारित सोसल ड्रामा हो, जसमा महाभारतका पाँच पाण्डवको बिम्ब प्रयोग गर्दै समकालीन समाजको कथा प्रस्तुत गरिनेछ ।

फिल्मका महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् । फिल्मको निर्देशन वसन्त निरौलाले गर्दैछन् भने कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन् । फिल्मको छायांकन श्याम तामाङले गरिरहेका छन् । करिब ४० दिनको छायांकन तालिका तय गरिएको उक्त फिल्मको अधिकांश दृश्य झापामै हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्