फिल्म । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’ को औपचारिक घोषणा गरिएको छ । घोषणा गर्न आयोजित कार्यक्रममा कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको शीर्षक, निर्माण टिम र मुख्य कलाकार सार्वजनिक गरिएको हो। फिल्मको निर्देशन रंगपत्रकार तथा निर्देशक सुब्रत आचार्यले गर्नेछन्। यसअघि उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। ‘पच्चीस पच्चीस’ उनको तेस्रो निर्देशकीय फिल्म हुनेछ।
फिल्मका निर्माता कर्ण कार्की हुन्। गत वर्ष ‘होस्टेल ३’ मार्फत फिल्म निर्माणमा प्रवेश गरेका कार्कीको यो दोस्रो निर्माण परियोजना हो। सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता छन्। प्रकाश कँडेल र मनिषा राउत लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।
फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। साथै, दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’का रूपमा परिचित अमित सुब्बाले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्नेछन्। ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत लोकप्रिय बनेका अमितको उपस्थितिलाई फिल्मको विशेष आकर्षणका रूपमा हेरिएको छ।
फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार गरेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। हरि हुमागाईं छायांकन निर्देशक रहने फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन्।
निर्माण पक्षका अनुसार छिट्टै छायांकनमा जाने तयारीमा रहेको ‘पच्चीस पच्चीस’ले मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको कमेडी कथा प्रस्तुत गर्नेछ। निर्देशक आचार्यले फिल्म नेपाली माटो सुहाउँदो हुने विश्वास व्यक्त गरेका छन्।










