फिल्म। आउँदो शुक्रबारबाट प्रदर्शन हुने नेपाली फिल्म ‘प्रेमा’ विविध कारणले चर्चामा छ। यसमध्ये एक छायांकन पनि हो। भारतीय विज्ञापन तथा टेलिफिल्ममा छायाँकारको अनुभव संगालिसकेका महेश पौडेलले फिल्मलाई छायांकन गरेका हुन्। ‘मञ्जरी’ र ‘रणवीर’ को छायांकान गरेर नेपाली फिल्ममा आफ्नो छुटै पहिचान स्थापित गरेका पौडेलले सन् २००५ देखि व्यावसायिक रुपमा काम गरिरहेका छन्। गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ । निर्देशक गोविन्दसँग महेशको फिल्म ‘मञ्जरी’को सेटमा भएको थियो । त्यसयताको यी दुईबीच ‘मञ्जरी’ हुँदै ‘रणवीर’ र ‘प्रेमा’मा सहकार्य भईसकेको छ ।
‘गोविन्दजी काममा प्रष्ट हुनुहुन्छ । उहाँलाई क्यामरा फ्रेमिङदेखि हरेक कुराको ज्ञान छ । त्यही भएर पनि काम गर्न सजिलो हुन्छ’, महेशले भने । महेशको अनुभवमा एक्सन फिल्म खिच्दा बढी मेहनत पर्दछ । उनका अनुसार एक्सनमा लाइटिङ र क्यामराको प्रयोग पनि बढी हुने भएकाले क्यामरापर्सनलाई चुनौती उत्तिकै हुन्छ ।अधिकांश छायाँकार स्क्रिप्ट पढेर फ्लोरमा गएपछि फिल्म छोड्ने गरेको गुनासो सुनिन्छ । महेशको बुझाईमा स्क्रिप्ट र वास्तविकताको तालमेल नमिलेर फिल्म छोड्ने गरेका छन् । ‘स्क्रिप्ट पढ्दा दिमागमा एउटा फ्रेम बनेको हुन्छ । तर फिल्डमा जाँदा त्यो अनुसार प्रोपर्टी अथवा लोकेसन पनि नहुन सक्छ । यो कन्टेन्टलाई यसरी भिजुलाइज गर्छु भनेर सोचेका हुन्छौं । जुन सोचाई फ्लोरमा पुग्दा भेटिँदैन’, महेश भन्छन्, ‘कतिपय अवस्थामा प्रोपर्टी पनि कारण हुन्छ । यसमा कलाकारको अभिनयदेखि धेरै कुरा पनि जोडिन्छ ।’
महेशले भारतीय च्यानल इण्डिया टिभी इमाजिनबाट प्रसारण हुने ‘शनीदेवकी महिमा’, स्टार प्लसबाट प्रसारण हुने ‘जय माँ दुर्गा’ र लाइफ ओकेबाट प्रसारण हुने ‘चन्द्रकान्ता’ मा छायाकारका रुपमा काम गरिसकेका छन् । उनले भारतीय टेलिभिजन च्यानलमा टेक्निकल हेडका रुपमा ३ वर्ष काम पनि गरिसकेका छन् । उनले नेपालमा धेरै टीभीसी विज्ञापन खिचिसकेका छन् ।
बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म ‘प्रेमा’मा अरुण क्षेत्री, शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । फिल्ममा निर्देशक गोविन्द र अर्का लेखक तथा निर्देशक विवेक घिमिरेको निर्माण छ । गोविन्दले यसै फिल्ममार्फत फिल्म निर्माणमा पनि पाइला चालेका छन् । फिल्मका कार्यकारी निर्माता सामर्थ विक्रम थापा हुन् ।










