फिल्म । आफ्नो सुमधुर स्वरले करोडौं श्रोताको मन जितेका गायक अरिजित सिंह आफ्नो सादगी र समाजसेवी भावनाका कारण पनि उत्तिकै प्रशंसित छन् । उनले आफ्नो गृहनगर मुर्शिदाबादको जियागञ्जमा रहेको आफ्नो पारिवारिक होटल ‘हेशेल’ मार्फत समाजसेवाको उदाहरणीय काम गरिरहेका छन् ।
अरिजितको परिवारले व्यवस्थापन गर्ने यो होटल श्रमिक वर्गका मानिसहरूका लागि वरदान साबित भएको छ । यहाँ मात्र ३० रुपैयाँमा स्वादिष्ट खाना उपलब्ध गराइन्छ, जसले दैनिक ज्यालादारी गर्ने तथा आर्थिक रूपले कमजोर मानिसहरूलाई आफ्नो पेट भर्न ठूलो सहयोग पुगेको छ । होटलमा सुपथ मूल्यमा मांसाहारी खाना पनि उपलब्ध छ ।
होटलको मर्मत सम्भारमा पनि अरिजित सिंह सक्रिय रूपमा संलग्न रहेको बताइएको छ । आफ्नो व्यस्त सांगीतिक जीवनको बाबजुद पनि उनले समाजप्रति देखाएको यो समर्पणले उनलाई थप लोकप्रिय बनाएको छ ।
सन् २००५ मा गायन रियालिटी शो मा पराजित भए पनि अरिजितले आफ्नो मेहनत र लगनशीलताले संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाए । आज उनी अपार लोकप्रियताको शिखरमा रहे पनि आफ्नो पुर्ख्यौली घरमा सामान्य जीवन बिताउन रुचाउँछन् । गाउँका गल्लीहरूमा साधारण लुगामा स्कुटरमा घुम्फिर गरेको देखिनु उनको सरल जीवनशैलीको उदाहरण हो । उनी सधैँ पृथ्वीमा रहेर जनताको सेवा गर्नु नै वास्तविक सफलता भएको बताउँदै आएका छन् ।
१८ वर्षको उमेरमा आफ्नो गायन करियर सुरु गरेका अरिजित सिंहले ‘आशिकी २’ को ‘तुम ही हो’ गीतबाट व्यापक चर्चा कमाए । एक दशकभन्दा लामो आफ्नो करियरमा उनले हिन्दी, बंगाली, मराठी र तेलुगु लगायत विभिन्न भाषामा ३०० भन्दा बढी गीत गाएर विश्वभरका संगीतप्रेमीहरूको मन जितेका छन् ।
अरिजित सिंह बलिउडका सबैभन्दा धेरै कमाउने गायक मध्ये एक हुन् । विभिन्न रिपोर्ट अनुसार उनको वार्षिक आम्दानी ७० करोड रुपैयाँ रहेको छ भने उनको कुल सम्पत्ति ४ सय १४ करोड रुपैयाँ छ । फोर्ब्सका अनुसार उनले सन् २०१९ मा मात्रै ७१ करोड रुपैयाँ आम्दानी गरेका थिए । उनी एउटा गीत गाएको १० लाख रुपैयाँ र कन्सर्ट गरेको ५० लाखदेखि १.५ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।











