‘होस्टेल ३’ मा नयाँ अनुहार

फिल्म । नेपाली फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ । यसअगाडिका दुई सिरिज झैँ यसपटक पनि नयाँ अनुहारले फिल्ममार्फत अवसर पाउनेछन् । उनीहरू अगाडि नै टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रियटर’को रूपमा चर्चित ‘कुल ब्वाई’ अर्थात् पारस बम समेत फिल्ममा अनुबन्धित भइसकेका छन् । फिल्मको लाइनअप पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए । उनका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकारको छानिने छन् ।

डेब्यु गर्न लागेका रिहान गिरी भुटानका नागरिक हुन् । उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन् । यस्तै, पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन् । उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित छन् । ‘होस्टेल ३’को स्क्रिप्ट अनुसार मंगोलियन पात्रको आवश्यकता अनुसार पदमलाई प्रस्ताव गरेको निर्देशक कँडेलले बताए ।

यस्तै, अर्की डेब्यु कलाकार सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन् । उनको लक्ष्य फिल्म नै भएता पनि ‘स्क्रिन टेस्ट’ र अभिनयको निखरताको लागि केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन् । निर्देशक कँडेलले यस फिल्ममा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन् । यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको उनले बताए ।

‘होस्टेलको लिगेस अनुसार नै हामीले पात्र सुहाउँदो भएकाले नयाँ अनुहारलाई अवसर दिएका छौँ । हाम्रो समूहले दर्शकको विश्वासलाई कायम राख्दै फिल्म तयार गर्नेछ’, निर्देशक कँडेलले बताए ।

वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए । ‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यो फिल्म सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर कर्ण कार्की हुन्।

कमेन्ट गर्नुहोस्