कस्तो चल्यो ‘दिमाग घोच्ने मान्छे’ ?

फिल्म । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको माघ ३ गते शनिवारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो ।

नेपाली वैकल्पिक राजनीतिका प्रणेता एवं अभियन्ता स्व उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र (डकुमेन्ट्री) ‘दिमाग घोच्ने मान्छे’ ले सोही अवधीसम्म रु ३ लाख १२ हजार ९०० कमाइ गरेको छ । गएको पुस २५ देखि देशभरका सिमित चलचित्र भवनमा प्रदर्शन भएको उक्त वृतचित्रलाई उज्वल थापा फाउन्डेसनको निर्माण गरेको हो ।

सुदिप भाजुद्वारा निर्देशित उक्त वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षा, स्वदेश फिर्तीपछिको नागरिक जागरण अभियान र वैकल्पिक राजनीतिमा उनले पुर्‍याएको योगदानलाई समेटेको छ । एक व्यक्तिको सक्रियताले समाजमा कसरी अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश वृत्तचित्रले दिएको छ ।

यो वृत्तचित्र निर्माणका लागि सर्वसाधारणहरूबाट ५ रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्राप्त भएको थियो । नेपाली नागरिक चेतना, उद्यमशीलता र सामाजिक रूपान्तरणको कथा बोकेको ‘दिमाग घोच्ने मान्छे’ ले अपेक्षाकृत व्यवसाय भने गर्न सकेन । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्