फिल्म । आउँदो चैत्र ४ गते ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउदैछ । फिल्मको केहि दिन अगाडी मात्र एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।
‘शंकर लामिछानेले धेरै पहिले नै भूपिका कविताले वर्तमान समयलाई मात्र होइन आउँदो समयको पुस्तालाई पनि प्रभावित गर्ने कुरा लेख्नु भएको छ । म उहाँले औंल्याएको त्यही पुस्ता हुँ,’ दिन्सले भने । फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।
दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।












