फिल्म । निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले नेपालमा केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को संरचना नै गलत रहेको बताएका छन् । फिल्म ‘राजागञ्ज’ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नु भएको दृश्य हटाउन लगाएपछि फिल्मकर्मीहरूले एक भेला गर्दै यसको विरोध गरेका छन् । उक्त भेलामा निर्देशक शर्माले विश्वमै कर्मचारी आएर सेन्सर बोर्डमा बसेर फिल्म सेन्सर गर्ने प्रक्रिया नरहेको बताए ।
उनले भने,‘सेन्सर बोर्डमा फिल्म बुझेका विज्ञ हुनुपर्छ । उनीहरूले देशको नीतिलाई असर गरेमा फिल्म रोक्ने नत्र युप कथालाई बुझ्ने उमेर समूहले हेर्न मिल्ने गरी वर्गीकरण गर्नुपर्छ । एउटा सर्जकले बानाएको सिर्जनालाई आफ्नो आँखाले हेरेर काट्ने अधिकार कसैलाई छैन । त्यसकारण नेपालको सेन्सरको गठन प्रक्रिया नै गलत छ ।’
उनले फिल्मका निर्देशकसहितका सर्जकले ‘सेल्फ सेन्सरशीप’ लागु गरेर फिल्म तयार गर्ने गरेको बताए । सामजिक सञ्जालसँगै टेलिभिजनमा आउने केही कन्टेन्टमा आपत्ति हुने र त्यो सबै सर्व सुलभ रुपमा उपलब्ध हुने बताउदै फिल्म पैसा तिरेर स्वेच्छाले हेर्ने मिडियम भएपनि त्यसमा सेन्सर बढी निरंकुश भएको उनले टिप्पणी गरे ।
‘हामी आवाज उठाउँछौँ अनि भुल्छौँ र अन्तिम समयमा फिल्म सेन्सरमा लग्छौँ, सोही कारण हामीमा हेपाहा प्रवृति बढेको छ । यसपटक यो समस्यालाई हामीले आफ्नो ठानेर एकताबद्ध भएर आफ्नो आवाज बलियो बनाउनु पर्छ । कहिले नामका विषयमा, कहिले संवादका विषयमा गरिने सेन्सरले क्रुरता देखाएको छ । मेरो अनुभवमा गणतन्त्र भन्दा अगाडि राजतन्त्रमा हामीलाई सिर्जनात्मक छुट थियो, अहिले जस्तो निरंकुश थिएन’, उनले भने ।
मण्डला थियटरमा आयोजना गरिएको भेलामा निर्देशक दीपक रौनियार, मनोज पण्डित, उपेन्द्र सुब्बा, विनोद पौडेल, गणेशदेव पाण्डे, अभिनेता दयाहाङ राई, दीपकराज गिरी लगायत सहभागी थिए ।











