सौन्दर्य । नेपाली बाल प्रतिनिधि देव जैसवालले मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा आयोजित अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ अन्तर्गत बालक विधामा ‘ग्रान्ड विनर’को उपाधि जितेका छन् ।
विश्वका विभिन्न देशबाट सहभागी प्रतिस्पर्धीबीच सम्पन्न अन्तिम चरणमा देवले आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता तथा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनप्रतिको समर्पण प्रभावकारी रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जितेका हुन्।
प्रतियोगिताका क्रममा उनले नेपालको मौलिक संस्कृति, परम्परा, सभ्यता, राष्ट्रिय पहिचान र प्राकृतिक सम्पदाको आकर्षक प्रस्तुति दिएका थिए। साथै नेपाली पहिरन, भाषा, संस्कार तथा नेपालको पर्यटन सम्भावनाबारे पनि उनले आफ्ना धारणा राखेका थिए।
देव प्रतियोगितामा सहभागी हुन म्याजेस्टिक ग्रुप नेपालमार्फत मलेसिया पुगेका थिए। संस्थाले प्रतियोगिताका लागि आवश्यक तयारी, समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।










