सडक दुर्घटनामा घाइते भइन् अभिनेत्री थापा

फिल्म । अभिनेत्री कोपिला थापा सडक दुर्घटनामा परेकी छिन् । एकसाता अघि भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा अभिनेत्री थापासँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक कार्यक्रममा सहभागि भएर पञ्चकुलातिर फर्किएको उनीहरुको चढेको कार ब्रेकफेल भएर २५ फिट तल खसेर ढलानमा बज्रिएको जनाइएको छ । दुर्घटना लगत्तै स्थानीय गाउँलेले आफ्नै गाढीमा चढाएर उनीहरुलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्‍याएका थिए ।

अभिनेत्री थापालाई ढाडमा गम्भीर चोट लागेको छ । ढाडको शल्यक्रिया गरेर स्टिल राखिएपनि कम्मरभन्दा मुनिको शरिर चल्न नसकेको जनाइएको छ । तर, उनी बोल्न चाहिँ सक्ने भएकी छन् ।

मोरङ सलकपुरकी अभिनेत्री थापाले दर्जनौं नेपाली फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा अभिनय गरेकी छन् । उनले पछिल्लो पटक हिट फिल्म ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । उक्त फिल्ममा उनले मदनकृष्ण श्रेष्ठको श्रीमतीको भूमिकामा अभिनय गरेकी थिइन् ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र विकास बोर्डमा रहेको चलचित्र कल्याणकारी कोषमार्फत थापाको उपचारमा सघाउन पहल भैरहेको बताए ।

कमेन्ट गर्नुहोस्