फिल्म । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली फिल्म ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज ललितपुरस्थित लविम मलमा रहेको क्युएफएक्समा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गर्दै प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय फिल्म बनाउने कोसिस गरेको बताए ।
उनले उक्त फिल्म आगामी असोज ३१ गतेदेखि नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडा लगायतका देशमा समेत प्रदर्शन हुने जानकारी दिए । सो पत्रकार सम्मेलनमा अभिनेता भुवन केसीले नेपालीको सुन्दरता र नेपाली विषयवस्तुको राम्रो मिश्रण ‘जेरी अन टप’ मा रहेको बताए । फिल्ममा अभिनेता केसीसँगै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गी लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ ।
अभिनेत्री आँचल शर्माले फिल्ममा आफूले ‘श्रेया’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी गराउनुहुँदै आफ्नो राम्रो फिल्ममध्येको एक रहेको बताइन ।अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।









