महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

सङ्गीत । महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ। मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको समन्वय गर्दै दाहालका सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य राखिएको थियो। एल्बममा दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यका गीत समावेश गरिएका छन्।

कार्यक्रममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ सार्वजनिक गरियो। गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विषय समेटिएका छन्।

एल्बमका तीन गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ भने ‘बित्छ बिहान आमाको’मा वरिष्ठ गायिका ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा गायक रमेश पाठकको स्वर सुन्न सकिन्छ। सम्पूर्ण गीतमा संगीत पनि सन्तोष श्रेष्ठकै रहेको छ।

समारोहमा शिक्षाविद् डा. यज्ञेश्वर निरौला प्रमुख अतिथि रहेका थिए भने चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलगायतले साहित्य र संगीतको सहकार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्यका श्लोक गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा खुशी व्यक्त गर्दै साहित्यलाई संगीतमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने अभियानको प्रशंसा गरे।

कार्यक्रममा साहित्यकार डा. विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो।

कमेन्ट गर्नुहोस्