फिल्म । आगामी भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को चितवनस्थित म्याङ्गो जनज्योति हलमा पब्लिक प्रिमियर सम्पन्न भएको छ । गत मंगलबार आयोजित प्रिमियरमा फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुङ्गाना र बालगायक तथा कलाकार अशोक दर्जी आफ्नो पात्रको लुक्समै उपस्थित भएका थिए ।
पर्दामा देखिएको पात्रलाई प्रत्यक्ष देख्न पाउँदा दर्शकले नीता ढुङ्गानाप्रति विशेष माया र आत्मीयता व्यक्त गरेका थिए । फिल्म प्रदर्शनका क्रममा धेरै दर्शक भावुक बनेका थिए भने अधिकांशले यसलाई आफ्नै घरपरिवारको कथा जस्तो महसुस भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।
फिल्ममा अटिजम भएकी एक महिलाको जीवन, उनका भाइसँगको आत्मीय सम्बन्ध, प्रेम र समाजसँगको संघर्षलाई मुख्य विषयवस्तु बनाइएको छ । प्रिमियरमा उपस्थित सर्वसाधारण दर्शकबाट निर्माण टिमले उत्साहजनक प्रतिक्रिया पाएको जनाएको छ । निर्देशक तथा कथाकार नीता ढुङ्गानाका अनुसार दिदीलाई घर र समाजबाट हुने उपेक्षाका बीच भाइले देखाएको माया, साथ र समर्पणको कथाले दर्शकको मन छोएको छ ।
दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियापछि निर्माण पक्ष थप उत्साहित बनेको छ । प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो निर्देशन र फिल्मलाई दर्शकले मन पराइदिएकोमा खुसी व्यक्त गरिन् ।
फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा प्रचारप्रसारका लागि निर्माण टिम र कलाकारहरूको टोली देशका प्रमुख सहरको भ्रमणमा रहेको छ। सोही क्रममा मंगलबार चितवन पुगेको टोलीले ‘पार्वती’ ले दर्शकलाई फरक स्वादको सामाजिक कथा प्रस्तुत गर्ने र हलमा राम्रो साथ पाउनेमा आफूहरू विश्वस्त रहेको जनाएको छ।
प्रचारप्रसारकै क्रममा चितवन पुगेका अशोक दर्जीले फिल्ममा काम गर्दाको अनुभव साट्दै यो समाजसँग जोडिएको संवेदनशील कथा भएकाले सबैलाई हलमा गएर हेर्न आग्रह गरे। फिल्ममा नीता ढुङ्गाना दिदी र अशोक दर्जी भाइ को भूमिकामा देखिएका छन्।
नीता ढुङ्गानाको कथा तथा निर्देशन रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन्। फिल्ममा नीता र अशोकका साथै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ।












