फिल्म । चौथो सातामा प्रवेश गरेको नेपाली फिल्म ‘गौँथली’ ले देशभरबाट २० करोडको हाराहारीमा ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार फिल्मले १९ करोड ७१ लाख ०६ हजार ५ रुपैयाँ कमाइ गरेको छ । साउन २४ गते आइतबारसम्म फिल्मका ७ लाख १५ हजार १ सय ९८ टिकट बिक्री भएका छन् ।
हलिउड फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ को प्रदर्शनबीच पनि ‘गौँथली’ले उत्कृष्ट व्यापार कायम राख्दै नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने फिल्मको सूचीमा आफूलाई अगाडि बढाउन सफल भएको छ । ‘गौँथली’ ले लगातार दर्शकको साथ् पाउँदै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा चौथो स्थान बनाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ र दर्शकको निरन्तर साथ रहेमा फिल्मले छिट्टै २५ करोड रुपैयाँ ग्रस कमाइको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।
‘गौँथली’ भन्दा बढी कमाइने गर्ने फिल्ममा पहिलो स्थानमा ‘पूर्णबहादुरको सारंगी’ र दोस्रो स्थानमा ‘कबड्डी ४’ रहेको छ । ‘गौँथली’ फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थान प्राप्त गर्ने तय भईसकेको छ ।
डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण, सिम्रन, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।











