‘आचार्य’ लिएर निर्देशनमा फर्किए निखिल

फिल्म । अभिनेता निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार फर्स्टलुक भिडियो सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको हो । एक्सनप्रधान फिल्म ‘आचार्य’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि प्रदर्शनमा आउनेछ । यससँगै निखिल उप्रेती करिब एक दशकपछि निर्देशकका रूपमा फर्किएका छन्। उनले यसअघि सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए ।

सार्वजनिक फर्स्टलुक भिडियोमा निखिललाई शक्तिशाली र रहस्यमय अवतारमा प्रस्तुत गरिएको छ। पहाडी तथा जंगल क्षेत्रको पृष्ठभूमिमा छायांकन गरिएको भिडियोमा उनी शारीरिक रूपमा सशक्त देखिन्छन्। हातमा बाज, पिठ्युँमा खोपिएको ट्याटू तथा सिनेमाटिक प्रस्तुतीकरणले फिल्म उच्चस्तरीय एक्सन, शक्ति र रहस्य मिसिएको कथामा आधारित रहेको संकेत गर्छ।

भिडियोमा प्रयोग गरिएको पृष्ठभूमि संगीत, दृश्य संयोजन र छोटो एक्सन सिक्वेन्सले फिल्मको भव्य निर्माण शैली झल्काउँछ। निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया तथा भारतीय कलाकार दीपराज राणाको अभिनय रहेको छ।

फिल्मको कथा तथा लेखन निखिल उप्रेती स्वयंले गरेका हुन्। छायांकन मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाले गरेका छन् भने द्वन्द्व निर्देशन शुक्रराज शाह र सम्पादन बन्दे प्रसादको रहेको छ। फिल्मका निर्माता कृष्ण भट्टराई हुन्।

कमेन्ट गर्नुहोस्