कहाँ कहाँ हुँदैछ ‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’ को अडिसन ?

सङ्गीत । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणासँगै अडिसनको तयारी सुरू भएको छ । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीको सक्रियतामा सुरू भएको दुई प्रतियोगिताको चर्चा विश्वभरका नेपाली माँझ छ ।

विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले सुरू गरिएको गायन र नृत्य प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिर्भस’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नेछन् भने यसलाई सुरेश पौडेलले निर्देशन गर्नुहुने छ ।

यस्तै, ‘मेरो डान्स युनिर्भस’ मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शङकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहेका छन् भने मोसमी गुरुङले निर्देशन गर्नु हुनेछ । यस्तै, कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ छिन् ।

नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ । अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन हुँदैछ । यस्तै, मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुँदैछ ।

कमेन्ट गर्नुहोस्