१० ऐतिहासिक नेपाली फिल्मले पाए ‘युनिभर्सल’ प्रमाणपत्र

फिल्म । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली फिल्मको जाँचपास प्रक्रिया सम्पन्न भएको छ। जाँचपास प्रक्रिया पूरा भएका सबै फिल्मले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन् । जाँचपाससम्बन्धी प्रमाणपत्र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई उदयबहादुर राणाले हस्तान्तरण गरेका हुन् ।

यी फिल्म डिजिटाइज गरी बोर्डको सङ्ग्रहालयमा सुरक्षित राखिए पनि हालसम्म जाँचपास प्रक्रिया पूरा भएको थिएन। प्रचलित कानुनी व्यवस्थाअनुसार जाँचपास प्रमाणपत्रबिना कुनै पनि फिल्म नेपालमा सार्वजनिक रूपमा प्रदर्शन गर्न पाइँदैन।

जाँचपास प्रक्रिया सम्पन्न भएसँगै अब ‘कुमारी’, ‘सिन्दुर’, ‘आमा’, ‘बदलिँदो आकाश’, ‘के घर के डेरा’, ‘शान्तिदीप’, ‘जीवनरेखा’, ‘मनको बाँध’, ‘परिवर्तन’ र ‘हिजो आज भोलि’लाई फिल्म महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक समारोहमा प्रदर्शन गर्न सकिने भएको छ।

चलचित्र विकास बोर्डका अनुसार यी फिल्म नेपाली फिल्म उद्योगको विकासक्रम, तत्कालीन सामाजिक अवस्था, कला, संस्कृति, भाषा, जीवनशैली तथा फिल्म निर्माण प्रविधिको अध्ययनका लागि महत्त्वपूर्ण दृश्य-श्रव्य सम्पदा हुन्।

बोर्डले पुराना तथा दुर्लभ नेपाली फिल्मको खोजी, सङ्कलन, डिजिटाइजेसन, अभिलेखीकरण, संरक्षण र पुनःप्रदर्शनलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ। साथै, जाँचपास सम्पन्न भएका यी ऐतिहासिक फिल्मलाई नयाँ पुस्तासम्म पुर्‍याउन र नेपाली फिल्मको इतिहासबारे जानकारी गराउन विशेष प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिने बोर्डले जनाएको छ।

कमेन्ट गर्नुहोस्