नेपालमा कहिले आउँछ कोरोनाको भ्याक्सिन ?

0 Shares

देश । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वनै सामान्य अवस्था तर्फ फर्किन सकेको छैन । केहि युरोपेली देशमा दोस्रो चरणको लकडाउन भइरहेको छ भने केहि देश कोरोनासँगै जीवनलाई अगाडी बढाईरहेका छन् । कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् । तेस्रो चरण सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको हो ।

नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीबारे गृहकार्य सुरु गरेको छ । खासगरी खोपको कोल्ड चेनलाई लिएर तयारी सुरु भएको हो ।कोभाक्स एउटा यस्तो प्रणाली हो, जसको माध्यमले गरिब र धनी सबै मुलुकमा प्रभावकारी रूपमा खोप पाउने सुनिश्चित गरिन्छ । विकसित र अन्य दाताले आर्थिक स्रोत दिने र गरिब मुलुकले पनि रकम योगदान गर्ने गरी कोभाक्सको धारणा ल्याइएको हो । सरकारले हालसम्मको विश्लेषणअनुसार करिब ७० प्रतिशत नेपालीलाई खोप आवश्यक हुने आकलन गरेको छ ।

कोभाक्स सुविधाअन्तर्गत हाल १० वटा खोप छन् । तिनलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नजिकबाट हेरिरहेको छ । यी खोप निर्माताहरू डब्लूएचओसँग आफ्नो क्लिनिकल ट्रायलको परिणाम आदानप्रदान गर्छन् । कोभाक्स सुविधाअन्तर्गत मुलुकको कुल जनसंख्याको २० प्रतिशतलाई कोभिडको खोप दिने भनिएको छ । यसअन्तर्गत सुरुमा कुल जनसंख्याको तीन प्रतिशतका लागि कोभाक्सअन्तर्गत खोप पाइने कुरा भएको छ । कोभाक्सअन्तर्गत खोप भित्रिनेबित्तिकै सुरुमा जोखिम बढी भएकाहरू अर्थात् फ्रन्टलाइनर, बूढापाका जोखिम बढी भएकालाई दिने प्रक्रिया अपनाइने तयारी छ ।

खोप नआउने कम्पनीहरूमा बेलायतको एस्ट्राजेनेका, रुसको ग्यामेलिया र चीनको क्यान्सन, सीएनबीजी डब्लूआईबीपी, सिनोभ्याक र सीएनबीजी बीआईबीपी छन् । तेस्रो चरणको ट्रायलमा रहेका १० वटा खोपमध्ये रुस, अमेरिका, चीन र बेलायत गरी चार खोप ‘भाइरल भेक्टर’ मा आधारित छन् । यस्तै अमेरिकाकै दुईवटा खोप आरएनमा आधारित र एउटा खोप प्रोटिनमा आधारित एवं चीनका तीनवटा खोप ‘इनएक्टिभेटेड’ छन् ।

नेपालको सन्दर्भमा खोपलाई डब्लूएचओले आकस्मिक अवस्थामा प्रयोगका लागि मान्यता दिएको हुनुपर्छ भने औषधि व्यवस्था विभागमा समेत दर्ता हुनुपर्छ । अर्को अवस्थामा उत्पादक मुलुकमा दर्ता भएको खोप ती मुलुकमा प्रयोग भएको हुनुपर्छ भने नेपालको औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ । डब्लूएचओ कोभाक्स सुविधाले अल्प विकसित वा कम विकसित मुलुकका लागि फाइजरको खोप उपयुक्त हुने कुरासमेत भन्नुपर्ने उनी औंल्याउँछन् । डब्लूएचओले खोप सन् २०२१ को मध्यसम्ममा तयार हुन सक्ने अनुमान गरेको छ ।

विश्वमा करिब २०० भन्दा बढी सम्भावित खोपको विकास र परीक्षण भएको छ । यसमध्ये ४७ खोप मान्छेमा परीक्षण भइरहेको छ । फाइजर र बायोएनटेक ग्रुपसहितको १० वटा खोप अन्तिम चरणमा पुगिसकेका छन् । डब्लूएचओका अनुसार विश्वका वैज्ञानिकहरू कोरोनाका लागि धेरै प्रकारका सम्भावित खोपहरू विकास गर्दै छन् । यी सबै खोप कोरोना भाइरसलाई सुरक्षित रूपमा पहिचान र अवरुद्घ गर्नका लागि शरीरको प्रतिरोधी प्रणाली सिकाउन डिजाइन गरिएका छन् ।

कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन भएकाले कोरोनाविरुद्धको खोपलगायत औषधि पत्ता लाग्नासाथ ल्याउन सजिलो हुने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो ।

(साभार : इकान्तिपुर)

कमेन्ट गर्नुहोस्