हेटौडामा पाचौँ जर्नालिज्म अवार्ड सम्पन्न

देश । ‘हेटौडा जर्नालिज्म अवार्ड’ को पाचौँ संस्करण सम्पन्न भएको छ । गत शनिवार हेटौडामा भव्य कार्यक्रमको आयोजना गर्दै सम्पन्न समारोहमा विभिन्न दश विधामा कार्यरत पत्रकारलाई पुरस्कृत गर्नुकासाथै सञ्चार गृह संचालकलाई समेत सम्मान गरिएको थियो ।

न्यु मिडिया एकेडेमी र पावर इन्टरनेसनल मिडिया नेपालद्वारा आयोजित उक्त समारोहमा होम कार्कीलाइ सर्वोत्कृष्ट पत्रकार राष्ट्रिय वर्ष अवार्ड, खोज पत्रकार वर्ष अवार्ड रेवती सापकोटा (नवीन), उत्कृष्ट पत्रकार महिला वर्ष अवार्ड सरिता दाहाल र उत्कृष्ट पत्रकार पुरुष वर्ष अवार्ड गणेश दुलाल, उदीयमान पत्रकार वर्ष अवार्ड रवीन्द्र वाइबा, टेलिभिजन पत्रकार वर्ष अवार्ड मनिल महतो, अनलाइन पत्रकार वर्ष अवार्ड अनिल पराजुली, चलचित्र पत्रकार वर्ष अवार्ड राजेश थापा गरिब, ग्रामीण पत्रकार वर्ष अवार्ड कृष्णा विष्ट र खेलकुद पत्रकार वर्ष अवार्ड विक्रम बानियाँलाई प्रदान गरिएको छ । अग्रज सञ्चारकर्मीका रूपमा कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईंलाई सम्मान गरिएको छ भने मिडिया उद्यमी उज्ज्वल चौलागाईं, माधव न्यौपाने र ध्रुव ढकाललाई सम्मान गरिएको छ ।

इजरायल र प्यालेस्टिनीबीच भएको युद्धको स्थलगत रिपोर्टिङ गरेको भन्दै कार्कीलाई सर्वोत्कृष्ट पत्रकार राष्ट्रिय वर्ष अवार्ड दिइएको हो । पुरस्कारको राशि १५ हजार, टफ्री र प्रमाणपत्र दिइएको हो । कार्यक्रममा प्रतिविधामा ५ हजार, उत्कृष्ट पत्रकार पुरस्कारमा १० हजार र सर्वोत्कृष्ट पत्रकार पुरस्कारमा १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, पत्रकार पोष्टराज अधिकारी (कुमार) र देवराज पन्त रहेको तीन सदस्यीय जुरी टिमले पुरस्कृत हुनेहरूको नाम छनोट गरेको थियो ।

विसं २०७५ देखि सुरु गरिएको अवार्डले सञ्चारकर्मीलाई हौसला प्रदान गर्ने कार्यक्रम संयोजक मणिराज गौतमले बताए । उनले भने,‘अरुका समाचार बनाउने आफैँ समाचार बन्ने कुराले हौसला मिल्छ । मोफसलमा रहेर पत्रकरिता गरिरहेकालाई हामीले थोरै भएपनि प्रोत्साहित गर्न अवार्डको सुरुआत गरेका हौँ ।’

कार्यक्रममा उपस्थित हेटौडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले स्थानीय विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै खबरदारीलाई निरन्तरता दिन आग्रह गरिन । ‘हाम्रो हेटौडालाई विकसित बनाउन र सुसूचित गर्न पत्रकारको महत्वपूर्ण भूमिका छ । हामीलाई खबरदारी गर्नुका साथै हामीले गरेका राम्रा कामलाई आम मानिससम्म पुर्याउन तपाइँको भूमिका आउँदो समयमा अझैँ प्रभावकारी हुनेमा विश्वस्त छु’, उनले भनिन् ।

कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, अग्रज पत्रकार शान्तिप्रिय, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा लेखिका शोविता सिम्खडा, चलचित्र पत्रकार सङ्घका पुर्व अध्यक्ष दिनेश सिटौला, पुर्व उपाध्यक्षद्वय कुवेर डंगोल र जीवनकुमार पराजुली, अभिनेता तथा गायक कोशिश क्षेत्री, निर्माता तथा वितरक नरेन्द्र महर्जन, कलाकार सुशान्त श्रेष्ठ, नेपाल प्रेस युनियन काठमाडौँ शाखाका कोषाध्यक्ष प्रदीप कार्की लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्