प्रविधि । पछाडिको भागमा ५ वटा क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन सन् २०१९ को पहिलो महिना जनवरीमा लन्च हुने भएको छ । नोकिया ब्राण्डको स्वामित्व लिएको कम्पनी एचएमडी ग्लोबलले नोकिया नाइन प्योर भ्यू नामक स्मार्टफोन ल्याउने योजना बनाएको जनाएको छ । जनवरी महिनाको अन्तिम हप्ता नोकियाको यो फ्लागसीप स्मार्टफोन सार्वजनिक हुने तय गरिएको हो । उक्त स्मार्टफोनको डिजाइन तथा स्पेसिफिकेसन्सका बारेमा विभिन्न खुलासाहरु भैसकेका छन् । नोकिया नाइन प्योर भ्यूको मुख्य विशेषता भनेको यसमा ५ वटा रियर क्यामरा हुनेछन् ।
फोनको ब्याकसाइडमा रहने ती ५ क्यामरामध्ये दुईवटा १२–१२ मेगापिक्सेलका हुनेछन् । त्यस्तै अरु दुईवटा १६–१६ मेगापिक्सेलका हुनेछन् भने पाँचौँ क्यामरा ८ मेगापिक्सेलको हुनेछ । क्यामरा सेटअपमा एलइडी फ्लास तथा आइआर सेन्सर वा लेजर अटोफोकस हुनसक्ने बताइएको छ । त्यस्तै यो स्मार्टफोनमा सेल्फी क्यामेरा १२ मेगापिक्सेलको हुनेछ । स्मार्टफोनको डिस्प्ले ६ इन्चको हुनेछ भने ८ जिबीको र्याम र २५६ जिबी स्टोरेज रहनेछ । यो स्मार्टफोनको मूल्य चीनमा ४ हजार ७९९ युआन हुनेछ । जसको नेपाली मूल्य झण्डै ८० हजार हुनेछ ।