फिल्म । नेपाली फिल्म ‘परिवर्तन’ को ट्रेलरले सार्वजनिक भएको छोटो समयमै उल्लेखनीय दर्शक ध्यान तानेको छ । गत सोमबार रिलिज भएको ट्रेलरलाई तीन दिनमै ११ लाख २० हजारभन्दा बढी पटक हेरिएको छ । ट्रेलरप्रति दर्शकको प्रतिक्रिया प्रायः सकारात्मक देखिएको छ । कमेन्टकर्ता पल साउदले अभिनेता सुशील श्रेष्ठको एक्सनको प्रशंसा गर्दै लेखेका छन् ।
ट्रेलरमा एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । सत्ताको आडमा आम नागरिकमाथि दमन गर्नेहरूको अन्त्य एक दिन अवश्य हुन्छ भन्ने सन्देश ट्रेलरमार्फत निर्देशकले दिन खोजेका छन् । फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ, जसका कारण दर्शकले उनलाई एक्सन स्टारका रूपमा लिन थालेका छन् ।
फिल्ममा सुशील श्रेष्ठसँगै अभिनेत्री अञ्जना बराइली पनि मुख्य भूमिकामा देखिएकी छन् । उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी छन्, जुन उनको फरक र सशक्त भूमिकामध्ये एक मानिएको छ। ट्रेलरमा दुवैबीचको केमेस्ट्रीलाई पनि दर्शकले मन पराएका छन् ।
दर्शक प्रतिक्रियाबाट उत्साहित सुशील श्रेष्ठले भने, ‘मलाई एकदमै राम्रो लागेको छ। दर्शकको फिडब्याकले झन् उत्साहित बनाइरहेको छ।’ टिजर र ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । ट्रेलरमा सुशील र अञ्जनासँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको पनि झलक देख्न सकिन्छ। ट्रेलरप्रति निर्देशक विजय केरुङ पनि सन्तुष्ट देखिएका छन्। उनका अनुसार फिल्मले एक्सनसँगै बलियो सामाजिक सन्देश बोकेको छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’मा सुशील श्रेष्ठ र अञ्जना बराइलीसहित सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे मुख्य भूमिकामा छन् । एक्सन सस्पेन्स विधामा बनेको यस फिल्मको कथा तथा निर्माण दीपक शिवाकोटीले गरेका हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन् ।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । ‘परिवर्तन’ यही माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो भने ओएसआर डिजिटल सहकार्यमा रहेको छ ।










