फिल्म । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमले ‘इन्डक्ल्याप’ गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको हो । गत साता काठमाडौंको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य छायांकन गर्दै ४५ दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।
छायांकन सम्पन्न भएसँगै फिल्म आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । हालसम्म उक्त मितिमा कुनै नेपाली फिल्मले आधिकारिक रूपमा प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ले एकल प्रदर्शनको अवसर पाउने अपेक्षा निर्माण टिमको छ ।
आहा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया रहेका छन् भने दिनेशराज बुढाथोकी कार्यकारी निर्माता हुन् । फिल्मको छायांकन दिव्यराज सुवेदीले गरेका छन् ।
फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरि खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मलाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।










