फिल्म । प्रेम व्यक्त गर्ने दिनलाई भ्यालेन्टाइन डेको रुपमा मनाइन्छ । पछिल्लो समय यो पश्चिमा संस्कृतिले नेपालमा राम्रै स्थान पाएको छ । आफुले मन पराएकालाई सजिलै भन्ने गरिएकोले पनि भ्यालेन्टाइन डे प्रेम व्यक्त गर्नेका लागि खास दिन हुने गरेको छ । भ्यालेन्टाइनलाई सम्झिएर १४ फेब्रुअरी आउनु अघिको एक साता संसार प्रेममय बन्ने गर्छ ।
प्रेम दिवसकै सन्दर्भ पारेर अभिनेत्री छुल्ठिम गुरुङले आफ्नो भावना साटेकी छिन् । उनले अन्नपूर्ण पोष्टसँग कुरा गर्दै प्रेमलाई जीवनको अभिन्न तत्त्वको रुपमा व्याख्या गरेकी छिन् । ‘प्रेमबिनाको जीवन कल्पना गर्न पनि सकिन्न तर प्रेम मात्रै भएर पनि जिन्दगी चल्दैन ’ उनले भनिन् । टिनएजमै गायक धीरज राईसँग प्रेमविवाह गरेकी छुल्ठिमलाई पहिलो पटक प्रेमको महसुस भने हिन्दी फिल्म हेर्ने क्रममा भएको थियो । बलिउडका रोमान्टिक फिल्म हेर्दा नायिकाको ठाउँमा आफैंलाई राखेर हेर्थिन् ।
वीरगन्जमा हुर्किएकी उनका लागि बुवा सुपरम्यान थिए । त्यसैले उनले आफ्नो मायामा बुवाको क्वालिटी खोज्ने गरेकी छिन । ‘पहिलो डेट त म धीरजजी सँगै गरेकी थिएँ। जम्मा चार पटकको भेटपछि टिनएजमै बिहे गरियो। सायद कच्चा उमेरमै गरेको बिहे भएर होला, लामो समय लैजान सकिएन।’ छुल्ठिम अहिले सिंगल नै छिन् । विवाहको धङधङ्गीबाट भर्खरै मात्रै बाहिर निस्किएकाले पनि होला, तत्कालै कसैसँग सम्बन्ध गाँसिहाल्ने हतारो छैन उनलाई । जबसम्म प्रेममा विश्वाससँगै एकअर्काको कामको सम्मान हुँदैन, तबसम्म प्रेमको मिठास नमिल्ने उनको तर्क छ । (अन्नपूर्ण पोष्ट डटकमबाट )










