राजेश हमाल र सरोज खनाल ३१ वर्षपछि पर्दामा सँगै

फिल्म । नेपाली फिल्म जगतका दुई दिग्गज अभिनेता राजेश हमाल र सरोज खनाल ३१ वर्षको लामो अन्तरालपछि पर्दामा सँगै देखिने भएका छन् । उनीहरूले पछिल्लो समय अभिनय गरेको फिल्म हो,‘नरसिंहा अवतार’ । दिवाकर भट्टराई निर्देशित फिल्मको हालै ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा दुई अभिनेताको सहकार्यले प्रसंशक खुसी छन् ।

लामो समयपछि यी दुई महान् कलाकारलाई एउटै फ्रेममा हेर्न पाउने खबरले दर्शकहरू निकै उत्साहित भएका छन् । ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता हमालले आफूहरू धेरै वर्षपछि भेटिएर काम गरको अनुभूति नभएको बताए । उनले भने, ‘मैले सधै काम गरिरहेको छु जस्तै लाग्यो । मलाई यत्तिका वर्षपछि सरोजजीसँग काम गर्दैछु भन्ने नै लागेन । उहाँ लगायत केही कलाकारसँग वर्षौदेखि काम गरिरहेको छु ।’

अभिनेता खनालले अभिनेता हमाल पछिल्लो समय झनैं मेहनती भएको भन्दै प्रसंशा गरे । उनले भने,‘पहिला रियाक्सन सटको लागि चिफएडी आएर डायलग बोल्थे, म लगायत धेरैले त्यसगरी काम गरेका छौँ । यो पटक हमालको आफैँले डायलग बोल्नुभयो । उहाँको जस्तो दमदार डायलग अन्य कसैले बोल्नै सक्दैन, त्यसैले म लगायत धेरै कलाकारको रियाक्सन गज्जब आएको जस्तो लाग्छ ।’

दिवाकर भट्टराईद्वारा लिखित तथा निर्देशित यो फिल्म चन्द्र पन्तको कथामा आधारित छ । फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको छायाङ्कन रहेको छ । सार्वजनिक भएको १५ मिनेटमै फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ, जसले दर्शकहरू यो फिल्मलाई कति आतुरताका साथ पर्खिरहेका छन् भन्ने स्पष्ट हुन्छ ।

फिल्ममा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का र समाइरा थापा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेको यस फिल्ममा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा वसन्त अधिकारीको सह-निर्देशन रहेको छ। नेम महर्जनको लगानी रहेको यो फिल्मलाई दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले निर्माण गरेका हुन्। जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘नरसिंहाः अवतार’ ले बक्स अफिसमा धमाकेदार ओपनिङ गर्ने अड्कलबाजी गरिएको छ।

कमेन्ट गर्नुहोस्