फिल्म । गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा तयार भएको पहिलो फिल्म ‘वसन्त’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा २०६२/६३ सालको परिवेश देखाइएको छ । जात व्यवस्थाविरूद्धको कथा उठाएको फिल्ममा भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई समेटिएको छ ।
ट्रेलरअनुसार फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का)को वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण सम्बन्ध संकटमा छ । जात व्यवस्था हटाउन शान्ति पात्रले विद्रोहको बाटो अपनाएको पनि ट्रेलरमा देखिन्छ । ट्रेलर रिलिजपछि फिल्मको टिमले समाखुसीस्थित सिटी स्क्यावर भवनमा ‘वसन्त साँझ’को समेत आयोजना गरेको थियो । जसमा प्रकाशसहित शान्तिश्री परियार, प्रिती आले, देवेन्द्र बब्लुलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा मोहन विश्वकर्मा र विन्दू बोहोरा (सपूत) निर्मातामा छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन रहेको छ ।