फिल्म । आगामी फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज हुने फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो फिल्मप्रति दर्शकमा ठूलो उत्साह देखिएको छ । गीत र ट्रेलरले दर्शकको मन जितेपछि फूलपातीमा फिल्मको ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गरिएको छ । फिल्मका मुख्य नायक धिरज मगर मल्टिस्टारर फिल्ममा देखा पर्दैछन् । दुई वर्षअघि स्क्रिप्ट पढेपछि उनले तुरुन्तै यो फिल्ममा काम गर्न राजी भएको बताए ।
‘यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा बुनिएको कथाले मलाई आकर्षित गर्यो । माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा प्रस्तुत गरिएको छ, त्यसले मलाई जोडिन प्रेरित गर्यो’, धिरजले भने,‘मेरो पात्र पूर्ण रूपमा नकारात्मक नभए पनि ग्रे सेडमा छ । यो पात्रको यात्रा नै मलाई मन परेको हो । ट्रेलरमा मेरो भिन्न गेटअप देखिन्छ, जुन दर्शकका लागि रोचक हुनेछ । कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रूपमा मेरो पात्र प्रस्तुत हुन्छ, जसले दर्शकमा कौतुहलता र दुविधा सिर्जना गर्छ ।’
धिरजका अनुसार फिल्मको मनोरञ्जनात्मक क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने छ । ‘दर्शक हाँस्दाहाँस्दै रुनेछन्, म ढुक्क छु’, उनले भने । पारिवारिक कथावस्तु भएकाले यो फिल्म दशैंमा दर्शकका लागि विशेष हुने उनको विश्वास छ । रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा धिरजसँगै केदार प्रसाद घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।










