देश । नेपालको छिमेकी मुलुक भारतले अनुदानको रुपमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप बिहिवार नेपाल आइपुगीसेको छ । नेपालको कुल जनसंख्याको ३ प्रतिशतलाई हुने गरि १० लाख मात्रा खोप नेपाल आएको हो । नेपाल आएको कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको खबर कान्तिपुर दैनिकमा छ ।
२ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्दै खोपको भण्डारण, ढुवानी र ओसारपसार गरिन्छ । पहिलो चरणमा खोप लगाउन पाउनेको जिल्लागत विवरणअनुसारको मात्रा भिन्दाभिन्दै प्याकेट बनाई हरेक जिल्लामा पठाइनेछ । केही खोप खेर जाने आकलनसहित प्रत्येक प्याकेटमा करिब १० प्रतिशत मात्रा बढी राखिने तयारी मन्त्रालयले गरीरहेको छ ।
पहिलो चरणमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा संलग्नलाई खोप दिने सरकारको योजना रहेको कान्तिपुरले उल्लेख गरेको छ । पहिलो चरणमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ६३ हजार ३ सय ६० जनालाई र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ हजार ५ सय ३२ जनालाई खोप दिइनेछ । लुम्बिनीमा ३९ हजार ४ सय ९५, प्रदेश १ मा ३५ हजार ४ सय ५६, प्रदेश २ मा ३४ हजार ८ सय ४, गण्डकीमा १७ हजार ६ सय ३० र सुदूरपश्चिममा १६ हजार २ सय ९३ जनाले खोप लगाउन पाउने भएका छन् । यो संख्या अद्यावधिक भइरहेकाले केही हेरफेर हुन सक्ने पनि मन्त्रालयले जनाएको छ ।
जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंमा ३१ हजार ५ सय १९ जना लाभान्वित हुनेछन् भने सबैभन्दा कम मुगुमा ९४ जनाले पहिलो चरणको खोप पाउनेछन् ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । ढुवानी, भण्डारण, खोप लगाउने व्यक्तिहरूको तथ्यांक संकलन, लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम र खोप वितरणका लागि उक्त बजेट आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









