भरतपुरमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ बन्ने

देश । कलाकारितासँगै समाजसेवामा पनि उत्तिकै सक्रिय कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच धुर्मुस-सुन्तली फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा गरिएको हो ।

रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ भने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ । रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने बताइएको छ । गुरु-योजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरिने भरतपुर महानगरकी मेयर रेणु दाहालले जानकारी दिइन् । उनले क्रिकेट रंगशालामा पहिलो खेल भारत-पाकिस्तानबीच हुने गरी तयारी थाल्ने पनि बताइन् । साथै, रंगशाला निर्माणका लागि साढे तीन करोड बढी सहयोग जुटेको छ ।

कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरिसकेको छ भने देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउण्डेशन अध्यक्ष ‘धुर्मुस’ ले बताए । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च पदस्थ सरकारी अधिकारी, कलाकार तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्