विदेश । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेगर्दै नयाँ नक्सा स्वीकार्य नहुने बताएको छ । बुधवार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’
नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा एकतर्फी कार्यबाट टाढै रहन र वार्तामार्फत् सीमासम्बन्धी समस्या समाधानका लागि वातावरण बनाउन उसले नेपाल सरकारलाई अनुरोध गरिएको छ । तर , भारतले पनि गत नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। (एजेन्सी)







