‘परालको आगो’ ले दर्शकको भरोसा टुट्न दिँदैन : सौगात

फिल्म । अभिनेता सौगात मल्ल फिल्म ‘परालको आगो’ प्रति निकै उत्साहित देखिएका छन् । फरक कथा र नयाँ सह कलाकारसँग पहिलो पटक काम गरेको अनुभवले आफू थप उत्साहित भएको उनले बताएका छन् । उनले नयाँ निर्माण समूह र को-एक्टरसँग काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा उनका को-एक्टर प्रकाश सपूतको गीतसङ्गीतसँग जानकार रहेता पनि भेटघाट नभएको उनले बताए । ‘प्रकाशसँग पहिले खासै भेट भएको थिएन । उहाँका गीतहरू भने मलाई पहिलेदेखि नै मन पर्थे । बाहिर जाँदा उहाँका गीत सुन्थेँ, त्यसैबाट उहाँलाई चिन्थेँ। पछि फिल्ममा सँगै काम गर्ने अवसर मिल्यो, काम गर्न सजिलो भयो’, उनले भने ।

अभिनेत्री सुहाना थापा सँगको सहकार्य पनि सहज रहेको उनको अनुभव छ । ‘गाउँमा करिब एक महिना बस्दा उनको अभिनय र काम गर्ने शैली निकै राम्रो लाग्यो’, उनले भने ।

सौगात मल्लले सुहाना थापामा झरना थापाको झल्को पाएको बताए । उनले सुहानालाई मेहनती तथा पछिल्लो समयकी सक्षम अभिनेत्रीका रूपमा प्रशंसा गरेका छन् । निर्देशक लक्ष्मण सुनार सँग यसअघि ‘कल्ली’ फिल्ममा काम गरेको अनुभवका आधारमा आफूले यो फिल्म रोजेको उनले बताए ।

सौगातका अनुसार यस फिल्ममा उनले अघिल्ला फिल्महरूको तुलनामा फरक भूमिका निर्वाह गरेका छन् । दर्शकले आफ्नो अभिनय मन पराउने र फिल्म चर्चामा रहनेमा उनी विश्वस्त छन् । निर्माता सुशील पोखरेलको लगानी रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । कथाअनुसार निर्माणमा कुनै कन्जुस्याइँ नगरिएको सौगातले बताएका छन् ।

साहित्यकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित फिल्ममा काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको उनले उल्लेख गरे ।फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् । फिल्म आगामी वैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्