प्रिमियरमा रुचाईयो ‘अञ्जिला’

फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाकको जीवनीमा आधारित रहेर तयार गरिएको नेपाली फिल्म ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ । हङकङ, बेलायत र दक्षिण कोरियापछि नेपालमा सोमबार साँझ गरिएको प्रिमियरमा फिल्मकर्मी र खेलकुदसँग जोडिएका खेलाडी र अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।

आज यहाँ ललितपुरमा रहेको क्युएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा फिल्म हेर्नेले रुचाएका छन् । खेलाडीको विषय फिल्ममार्फत आम मानिससम्म पुग्नु खुसीको खबर रहेको बताउदै निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ लगायतलाई निम्तालुले बधाई दिए ।

फिल्ममा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता कथा देखाईएको निर्देशक चाम्सले बताए । ‘खेलाडीको विषयमा फिल्म तयार गर्नु चुनौती पूर्ण विषय थियो, सम्पूर्ण टीमको सहयोगले पुरा गरें । यो एउटा फुटवल खेलाडी र कप्तान सुब्बाको लागि डिजिटल दस्तावेज पनि हुनेछ’, उनले भने ।

फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए । ‘खेल प्रेमिका हिसाबले मेरो लागि यसमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो । खेलाडी र खेलको विषयलाई फिल्ममार्फत प्रवर्द्धन गर्नुपर्ने बेला आएको छ, अन्यले पनि यो आट गर्नुहुन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता राईले भने ।

कप्तान सुब्बाका धर्मपिता तथा फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न फिल्मले प्रेरणा दिन्छ बताए । फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्म यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्