‘महाराजधिराज’ मा केकी

फिल्म । निर्माणको चरणमा रहेको फिल्म ‘महाराजधिराज’मा अभिनेत्री केकी अधिकारी ‘महारानी’को भूमिकामा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता विराज विष्टले अभिनेत्री अधिकारीको आवद्धता बारे जानकारी दिए । उनको प्रवेशसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको निर्माण पक्षले जनाएको छ।

यसअघि फिल्मको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भइसकेका छन् । आगामी वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारी गरिएको फिल्मको निर्देशन परिच्छेद सेन ले गरिरहेका छन् ।

फिल्ममा पुष्प खड्कासँगै नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस फिल्ममा करिब ८० जना कलाकारको सहभागिता रहने बताइएको छ । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण प्रस्तुत गर्ने उद्देश्यले व्यापक स्टारकास्ट तयार पारिएको हो ।

फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानहरूमा छायांकन गरिनेछ। छायांकन नवराज थापा ले गर्नेछन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रा.लि. को ब्यानरमा निर्माण हुने फिल्मको कथा तथा पटकथा निर्देशक सेन स्वयंले लेखेका हुन्। फिल्मका निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।

कमेन्ट गर्नुहोस्