विदेश । कोरोना भाइरस (कोभिड १९) को कारण यतिबेला विश्व चिन्तित छ । सामाजिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले सुझाएसँगै विश्वका अधिकांस देशले ‘लकडाउन’ गरिरहेका छन् । बढ्दो संक्रमणलाई रोक्ने मै अहिले विश्व केन्द्रित छ । कोरोनाबाट नेपालमा संक्रमित नेपाली संख्या कम भए पनि विदेशमा भने बढ्दो छ । बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।
अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर गरिएको स्वास्थ्य परीक्षणमा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको छ ।
बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।








