फिल्म । अभिनेता विराज भट्ट कुनै समयका एक्सन स्टार हुन् । उनले अभिनय गरेका फिल्ममा गरिएको एक्सनलाई दर्शकले निकै रुचाउने गर्थे । त्यहिँ बीचमा उनि नेपाली फिल्म हुँदै भोजपुरी फिल्ममा पुगे । र , यतिबेला उनि पुनः नेपाली फिल्म ‘साङ्लो’ लिएर दर्शक सामु आउदैछन् । फिल्ममा उनको अभिनयसंगै निर्माण र निर्देशन पनि गरेका छन् । निर्माण र निर्देशनमा उनको यसै फिल्म मार्फत डेब्यु भएको हो । ‘मलाइ यहिँ नेपाली फिल्म र दर्शकले पहिचान दिनु भयो , त्यसैले मैले कमाएको पैसा यहिँ लगानी गरेको हुँ’ उनले भने । तर , उनि नेपाली फिल्ममा व्यस्त भएकै समयमा भोजपुरी फिल्ममा गएका थिए ।
त्यसबेला उनका केहि फ्यान निराश पनि भए । तर , विराज भोजपुरी फिल्म प्रवेशलाई सफलताको रुपमा लिने गरेका छन् । ‘मेरो कामलाई देखेर अफर गरियो र त्यहाँ पनि म सफल भए’ उनले भने ,’अन्य ठाउँमा पनि सफल कलाकारलाई लाग्ने गरिन्छ , यो पलायन हैन ।’ उनले साउथ इण्डियन कलाकार बलिउडमा प्रवेश गर्नु पनि सफलता रहेको बताए । ‘म त्यहाँ गएर पनि नेपालको कलाकार विराज भट्ट भनेर चिनीए , म सँगै नेपाल चिनियो’ विराज भन्छन् । उनले मुम्बई रहदा पनि नेपाली फिल्म गर्ने सुरसार गरेका थिए , तर फिल्म बनेनन् ।
‘मैले नेपाली फिल्म नखेल्ने भनेकै थिइन् , मैले साइन गरेको कुनै फिल्मनै बनेनन्’ उनले सुनाए । उनले नेपाली फिल्मको लागि नेपाल आउने गरेता पनि पारिवारिक भेटघाट गरेर फर्किनु परेको बताए । ‘नेपाली फिल्म गर्ने भनेर उता डेट मिलाएर केहि पटक आएको पनि हुँ , तर खै फिल्म नै बनेन’ विराजले गुनासो गरे ।
साइन गरेका फिल्ममा ‘जय पर्शुराम’ बाहेक अन्य नबन्दा आफु नेपाली फिल्मसँग टाढिए झैँ देखिएको उनले बताए । त्यसैले यस पटक आफै लगानीकर्ता समेत बनेर उनि आएका छन् । ‘फिल्म पूर्ण मनोरन्जनात्मक छ , यसले नेपालकै एक मुद्दालाई पी उठाएको छ’ विराजले भने । फिल्ममा किड्नी तस्करीको कथालाई समेत जोडिएको छ । मौलिक कन्टेन्ट र आफ्नै शैलीका फिल्म बनाउन सके विदेशमा पनि बजार खोज्न सकिने उनी बताउँछन् ।
‘साङ्लो’ मा विराज भट्टसँगै निकिता चाण्डक , कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, प्रकाश शाह, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । एक्सन जनराको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व ,मानकृष्ण महर्जनको छायांकन र अर्जुन जिसीको सम्पादन छ । यसमा निर्माताको रुपमा तेज बहादुर खड्का रहेका छन् ।










