फिल्मकर्मीलाई सम्मान गर्दै बोर्डको बार्षिकोत्सवमा (फोटो फिचर)

26 Shares

फिल्म । चलचित्र विकास बोर्ड नेपालले आफ्नो स्थापनाको १९ औं बार्षिकोत्सव मनाएको छ । सोमबार काठमाण्डौमा रहेको बोर्डको आफ्नै भवनमा आयोजित कार्यक्रममा विभिन्न फिल्मकर्मीलाई सम्मान गर्दै बार्सिकोत्सव मनाएको हो । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आथित्यमा आयोजित बोर्डको बार्षिकोत्सवमा पूर्व अध्यक्षहरु यादव खरेल, निर शाह, शम्भूजित बास्कोटा, राजकुमार राई, कृष्ण मल्ल लगायत उपस्थित थिए । १९ औं वार्षिक उत्सवको अवसर पारेर चलचित्र विकास बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना फिल्मलाई डिजिटल प्रविधिमा ढालेको छ ।

जसमा ‘आमा, हिजो आज र भोली, जीवनरेखा, के घर के डेरा, सिन्दुर, परिवर्तन, मनको बाँध, कुमारी, बदलिदो आकाश, शान्तिदीप छन् । अन्य फिल्मलाई पनि विस्तारै प्राथमिकताको आधारमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने बोर्डको योजना छ । साथै , उक्त अवसरमा फिल्मीक्षेत्रको विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट फिल्मकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, ध्वनी विज्ञ प्रदीपकुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी निर्देशक दोशी आखी इतो (जापान), रङ्ग पत्रकार विजयरत्न तुलाधरसंगै विज्ञापन एजेन्सी(आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम द्वा, राजकुमार पोखरेल, नकिम उद्दिनलाई सम्मानित गरिएको थियो ।

यस्तै, फिल्मनगरीको खबरलाई आम पाठकसम्म पुर्याउदै विकास र विस्तारमा अहम भूमिका खेलेको भन्दै कामना पब्लिकेसनलाई पनि कार्यक्रममा सम्मानित गरियो । यसैगरी चलचित्र विकास बोर्डले पुरस्कार भने आउँदो असार २७ गते राष्ट्रपति निवासमा प्रदान गर्नेछ । ‘विभिन्न हल्ला सुनेको थिए कि राष्ट्रपतिले समय दिनु भएँन भन्ने तर मैले समय लिन जाँदा मलाइ तयारीको बारेमा सोध्नु भयो’ बोर्ड अध्यक्ष केशव भट्टराईले भने ‘अघिल्लो पटक पनि समय लिएर तयारी अभाव देखाउदै अवार्ड गरिएन , राम्रोसंग तयारी गर्नुस भन्नु भयो ।’ अध्यक्ष भट्टराईले फिल्मनगरीको हितका लागि आफुले यसक्षेत्रका संघ संस्थासंग छलफल गर्दै आगाडी बढ्ने बताए ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments