फिल्म । आयंका फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘मास्टर्नी’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सार्वजनिक भएको २४ घण्टाभित्रै गीतले अडियो र भिडियो दुवै विधामा ट्रेन्डिङको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो ।
दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतलाई समाचार तयार पार्दासम्म ६ लाखभन्दा बढी पटक हेरिएको छ । गीत रिल्स र टिकटकमा पनि लोकप्रिय बनेको छ। गायनमा दुर्गेशलाई गायिका बबिना किराँतीले साथ दिएकी छन् ।
प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की, आर्यन सिग्देल, दुर्गेश थापा र आयुष्मान जोशी फिचर्ड छन् । गीतको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन् ।
भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मास्टर्नी’ को निर्माण प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रणित कार्कीले संयुक्त रूपमा गरेका हुन्। सुवेन्दु घोषको निर्देशनमा बनेको फिल्मको कथा प्रियंका कार्कीको रहेको छ भने पटकथा शान बस्नेतले लेखेका छन्। संवाद शान बस्नेत र प्रियंका कार्कीले संयुक्त रूपमा तयार गरेका हुन्।
फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, रक्षा थापा, सिम्रन खड्का, दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ।









