अव्यावहारिक कर खारेजीको माग गर्दै हल बन्द गरिने

फिल्म । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ । सङ्घका महासचिव नरेन्द्र महर्जनले मुल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलन स्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन संचालन नगर्ने निर्णय गरिएको बताए ।

उनले विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका बताउदै व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको जानकारी दिए । ‘मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा यस्तो निर्णय लिन बाध्य भएका हौँ’, महासचिव महर्जनले भने ।

अहिले नेपाली चलचित्र प्रदर्शन भएवापत स्थानीय मनोरञ्जन कर वापत ५ (पाँच) प्रतिशत,मूल्य अभिवृद्धि करवापत १३ (तेह्र) प्रतिशत गरी १८ (अठार) प्रतिशत कर तिर्नु पर्ने हुन्छ भने विदेशी चलचित्र प्रदर्शन भए वापत यसमा १५ (पन्ध्र) प्रतिशत चलचित्र विकास शुल्क थपिएर ३३ (तेत्तीस) प्रतिशत कर बुझाउनु पर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्