‘शास्त्रीय संगीतका एक चम्किलो प्रतिभा गुमायौँ’ : राष्ट्रपति पौडेल

देश । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ शास्त्रीय संगीतकार एवम् गायक गुरुदेव कामतको निधनबाट नेपाली गीतसंगीतको क्षेत्रले एक कुशल संगीत साधक र शास्त्रीय संगीतका एक चम्किलो प्रतिभा गुमाएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले गुरुदेव कामतको निधनमा उहाँका परिवारलाई एक समवेदना सन्देश पठाउँदै सो धारणा व्यक्त गर्नुभएको हो ।

‘विभिन्न भाषाका गीत, शास्त्रीय संगीत प्रशिक्षण एवम् गायनका माध्यमबाट कैयौँ कालजयी गीत, गजल र भजनका सृजना नेपाली गीत संगीतप्रेमीलाई दिनुभएका कामतले यस क्षेत्रमा पुरयाउनुभएको योगदान नेपाल र नेपालीमाझ सदैव स्मरणीय रहनेछ’, उहाँले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गुरुदेव कामतको निधनको खबरले अत्यन्त दुःखी भएको बताउँदै स्वर्गीय कामतको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

सो समवेदना सन्देश सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र लहान नगरपालिकाका मेयर महेश कुमार चाैधरीले कामतका परिवारजनलाई बुधबार हस्तान्तरण गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्