‘एक मुठ्ठी बादल’ को यस्तो छ पोस्टर

फिल्म । फिल्म ‘एक मुठ्ठी बादल’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्ममा रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै कथावस्तु पारिवारिक परिवेशमा केन्द्रित रहेको संकेत गरेको छ ।

सार्वजनिक पोस्टरको केन्द्रमा आँचल शर्मा रहेकी छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका देखिन्छन् । घरभित्र सजिएको परिवेशमा उनीहरूको प्रस्तुतिले कसैलाई स्वागत गर्न प्रतीक्षारत रहेको आभास दिन्छ । पोस्टरले पाहुनाहरू आउनुअघि परिवार तयार भएर बसेको क्षणलाई चित्रण गरेको छ, जहाँ घरभित्रका संवाद र मौनता पनि संकेत गरिएका छन् ।

पोस्टरको अग्रभागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं देखिन्छन् भने पछाडिको भागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन् । उनीहरूको प्रस्तुतीले उनीहरू परिवारको प्रत्यक्ष सदस्य नभएको संकेत गर्छ । त्यसैगरी भीमा मैनेली, उषा रजक, मनिष निरौला र अविरल प्रताप अधिकारीले एक यस्तो परिवारको चित्र प्रस्तुत गरेका छन्, जहाँ सम्बन्ध नजिक भए पनि धेरै कुरा नबोली राखिएको देखिन्छ ।

सार्वजनिक अर्को पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजक लाई मात्र स्थान दिइएको छ । यस पोस्टरमा आँचललाई केन्द्रमा राखिएको छ भने निशा शर्मा र उषा रजकका उत्सुक दृष्टि आँचलतर्फ केन्द्रित देखिन्छन्, जसले तीन महिलाबीचको सम्बन्धलाई संकेत गर्छ ।

सहारा शर्माद्वारा लिखित तथा निर्देशित फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् । सह निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।

फिल्मको छायांकन लिन्ह डान गुयेन फानले गरेका छन् । प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव कुमार मल्लिक तथा सम्पादन सल्लाहकार दीपा भाटियाले सम्हालेका छन् । भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा र पोस्ट-प्रोडक्सन सुपरभिजन आश्मा गौतमले गरेका छन् ।

कमेन्ट गर्नुहोस्