फिल्म। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले वर्ष २०७९ मा प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्मको व्यापारको तथ्याङ्क सार्वजनिक गरे। उनले मातहतको मन्त्रालयसँग सहमति लिएर विवरण सार्वजनिक गर्नुको कारण पारदर्शिता बताएका थिए। विवरण सार्वजनिक पश्चात आएको प्रतिक्रियालाई जवाफ दिदै नेपाल चलचित्र कलाकार सङ्घको कार्यक्रममा विक्रम संवत २०८० देखि हरेक महिना विवरण सार्वजनिक गरिने बताएका थिए।
उनले व्यापारलाई लिएर हुने भ्रमलाई हटाउन विवरण सार्वजनिक गर्ने मञ्चबाटै उद्घोष गरे। यद्यपी यसको विरोध समेत भईरहेको छ। अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नै विवाद निम्त्याउने अध्यक्षको रूपमा केसीलाई सम्बोधन गरेका थिए। दीपक विवरण सार्वजनिक गर्ने कार्यदेखि सहमत छैनन्।
‘बक्सअफिस प्रणालीमा देखिएको विवरण निर्माताको लागि हो। यो बोर्ड अध्यक्षलाई हेर्न भनेर होइन। यसको सुरूवात हुँदा बोर्ड अध्यक्षले पनि नहेर्ने तथा नितान्त निर्माताको हितमा प्रयोग गर्ने भनिएको थियो। यद्यपी यसलाई आफ्नो अनुसार प्रयोग गरिएको छ’, दीपकले भने। उनले बोर्डले सार्वजनिक गरेको विवरण धेरैसँग मेल नखाएको समेत बताए।
‘केही फिल्मकर्मीसँग कुरा हुँदा विवरण मिलेन भन्ने सुनेको छु। हाम्रै पनि मिलेको छैन”, उनले भने। सार्वजनिक रूपमै विरोध भएपछि बोर्डले विवरण सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरिरहेको छ। ‘एक महिनामा गर्ने कि ? तीन महिनामा गर्ने कि ? वा सम्बन्धित निकाएलाई मात्र जानकारी दिएर सार्वजनिक रूपमा विवरण प्रकाशित नगर्ने ? लगायतका विषयमा छलफल भईरहेको छ”, बोर्ड स्रोतले भन्यो। प्रशासनिक र प्रक्रियागत अध्यन विना नै प्रतिक्रिया दिदा बोर्ड अध्यक्ष केसीले आफ्नो निर्णय लगत्तै फेर्ने गरेका छन्। मासिक रूपमै बक्सअफिस विवरण सार्वजनिक गर्ने बोर्ड अध्यक्ष केसीको बोली के हुन्छ ? यो आउँदो महिनानै थाहा हुनेछ।












