फिल्म । नेपाली समाजमा व्याप्त जातीय भेदभाव र अन्तरजातीय प्रेमको कथालाई आधार बनाएर निर्माण हुने फिल्म ‘जदौ’को बिहीबार राजधानीमा औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रीति कौरद्वारा लिखित फिल्मको गीत वाचन गर्दा उपस्थित माहौल भावुक बनेको थियो ।
गीतमा भनिएको छ:
नखाको विषले सतायो, नचल्ने खोटी बनायो लुटेर खुशी जीवनको, अधर्मी पापी बनायो। घाम, जून सबैको एउटै होइन र? हामीले फेर्ने सास एउटै होइन र? सानो र ठूलो भेदभाव किन?
मान्छे-मान्छेको जात एउटै होइन र? यसै क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन’ वाचन गर्दै फिल्मको टाइटल अनावरण गरे । अन्तरजातीय प्रेमसम्बन्धको यथार्थता प्रस्तुत गर्ने यो फिल्म काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने जानकारी दिइयो ।
भदौ पहिलो साताबाट दाङ र प्युठानका विभिन्न स्थानमा सुटिङ सुरु हुने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा तयार हुँदैछ । प्रबन्ध निर्देशक बिमला भण्डारीले फिल्म जातीय भेदभावविरुद्ध आवाज उठाउने उद्देश्यले बनाइएको बताइन् । निर्देशक अञ्जन शर्माले समाजका यथार्थ घटनालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको उल्लेख गरे । लेखकसमेत रहेका काजी लिम्बूले आफूले वर्षौंदेखि भोगेका जातीय भेदभावका घटनालाई फिल्ममा समेटिएको बताउँदै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
अभिनेता मुकुन भुसाल र विनोद न्यौपानेले यो फिल्ममा नयाँ पात्र र भूमिका निर्वाह गर्ने बताए । नीति शाहले आधुनिक भूमिकामा अभिनय गर्ने र विशेष तयारी गरिरहेको खुलासा गरिन् । प्रभातपालले गहन भूमिकाको लागि गम्भीर तयारी सुरु गरेको र करिअरको उचाइ बढ्ने विश्वास व्यक्त गरे । नवअभिनेत्री सन्ध्याले सिनियर कलाकारसँग स्क्रिन शेयर गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।
फिल्ममा मुकुन, नीति, प्रभातपाल, विनोद, सन्ध्या, ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतको अभिनय रहनेछ । सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले छायांकन, चिरञ्जीवि भण्डारीले कला निर्देशन, मिलन श्रेष्ठले द्वन्द्व निर्देशन र बिनयराज पौडेलले मुख्य सहायक निर्देशन गर्नेछन् ।
गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ । कार्यक्रममा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । गोलाप्रथाद्वारा छानिएका ७ भाग्यशाली संचारकर्मीलाई दैनिक जीवनमा उपयोगी सामग्री पुरस्कारस्वरूप प्रदान गरियो । निर्देशक लिम्बूले यो ‘लक्की सेभेन गिफ्ट’ को अवधारणा फिल्मलाई यादगार बनाउने उद्देश्यले ल्याइएको बताए । कार्यक्रम वरिष्ठ पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीले संचालन गरेका थिए ।










