फिल्म । शोभित बस्नेत निर्देशित फिल्म पीआर हङकङ-मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । निर्माण पक्षले हङकङ र पोर्चुगलका लागि प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको छ । निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका छन् । त्यस्तै, पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले अधिकार लिएका छन् ।
अब जापान, अष्ट्रेलिया, न्युजिल्यान्डसँगै हङकङ र पोर्चुगलमा पनि पीआर प्रदर्शन हुने भएको छ । निर्देशक बस्नेतले भने, ‘अहिले जापान, अष्ट्रेलिया, न्युजिल्यान्डसँगै हङकङ र पोर्चुगलमा फिल्म पीआर का शो सोल्ड आउट भइसकेका छन्। अन्य देशहरूसँग पनि प्रदर्शनबारे कुराकानी चलिरहेको छ।’
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र सन्तोष तिवारी (क्यारियर्स गेटवे) का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग अत्यधिक बढेको छ, जसले फिल्मको अन्तर्राष्ट्रिय आकर्षण उच्च रहेको संकेत गर्छ । यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको केही महिनाअघि अष्ट्रेलियाका विभिन्न स्थानमा विशेष शो गरिएको थियो । ती शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।
फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् । बन्दे प्रसादको सम्पादन रहेको फिल्मको ट्रेलर पनि उनले नै तयार पारेका हुन् । फिल्मको कथा गणेश बुढाथोकीले लेखेका छन् । फिल्मलाई सौरभ सायमी र सौरभ लामाले छायांकन गरेका छन् । फिल्मका गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर सुन्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको पीआर को वितरण आरआर फिल्म्सले गरिरहेको छ ।










