फिल्म । आउँदो शनिवार निर्देशकहरुको छाता संगठन चलचित्र निर्देशक समाजको निर्वाचन हुदैछ । नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियाका लागि हुने निर्वाचनमा धेरैको नाम अगाडी आएको छ । यस मध्य एक हुन् , केपी पाठक । उनि आफैले उम्मेदवारी घोषणा नगरेपनि उनका समर्थकले भने उठ्नु पर्ने दबाब दिईरहेका छन् । ‘मलाइ साथीहरुले उठ्नुस भन्नु भएको छ र केहि साथीले सामाजिक सञ्जाल मार्फत मैले उम्मेदवारी दिनु पर्ने समेत उल्लेख गरेकाछन’ पाठक भन्छन् ,’यद्दपी मैले उम्मेदवारी दिएको छैन ।’ उनले आफु उम्मेदवार नरहेको समेत बताए । निर्देशक समाजको अध्यक्षको रुपमा दुइ कार्यकाल बिताइसकेका पाठकले समाजमा काम गर्ने वातावरण निर्माण गर्न टिमनै आउनु पर्नेमा जोड दिए ।
पाठकले आफु अध्यक्षमा उम्मेदवारी नदिएको बताए पनि धेरै उम्मेदवार अगाडी आइसकेका छन् । अध्यक्ष पदमा निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेद्वारी दिने भएका छन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचनबाट उनी अध्यक्ष पदमा चुनिएका थिए । हाल समाजको अध्यक्ष पदमा सुचित्रा श्रेष्ठ छिन् । सुचित्राले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छिन् । अध्यक्ष पदमानै निर्देशकहरु लक्ष्मण रिजाल, शेखर खनालले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।












