ह्याप्पी बर्थडे यश : सहायक निर्देशकबाट यात्रा सुरु गरेर रकिङ स्टार बने

फिल्म । जुन उमेरमा बालबालिका पढाइ र खेलकुदमा रमाइरहेका हुन्छन्, त्यही उमेरमा एक कलाकारले अभिनयको दुनियाँमा पहिचान बनाउने सपना बोकेर यशले यात्रा सुरु गरेका थिए । केवल ६ वर्षको उमेरमै सहायक निर्देशकका रूपमा करियर सुरु गर्न कदम चालेका ती कलाकार आज विश्वभर चर्चित रकिङ स्टार यश बनेका छन् । उनले आज ४० औँ जन्मोत्सव मनाउँदैछन् ।

सुरुमा संलग्न भएको फिल्म बीचमै बन्द भए पनि यशको आत्मविश्वास र संघर्ष गर्ने इच्छामा कहिल्यै कमी आएन । अभिनयमै नाम कमाउने अठोटसहित उनले चिया बाँड्ने काम गरे, ब्याकस्टेजमा काम गरे र एक समय केवल ३०० रुपैयाँ बोकेर घरबाट भाग्दै बैंगलोर पुगे । ८ जनवरी १९८६ मा कर्नाटकमा जन्मिएका यशवंत उर्फ यशका पिता अरुण कुमार केएसआरटीसीका बस चालक थिए भने आमा गृहिणी हुन् । साधारण परिवारमा हुर्किएका यशलाई बाल्यकालदेखि नै अभिनेता बन्ने सपना थियो, जसलाई पूरा गर्न उनले कठोर संघर्ष गरे ।

यशले ६ वर्षकै उमेरमा फिल्म क्षेत्रमा सहायक निर्देशकका रूपमा काम सुरु गरेका थिए । तर त्यो परियोजना अघि बढ्न सकेन । त्यसपछि उनलाई अभिनय क्षमता विकासका लागि नाटक समूहमा आबद्ध हुन सुझाव दिइयो, जुन सल्लाह उनले आत्मसात् गरे । ‘बेनका ड्रामा ट्रुप’ का सदस्य बनेर उनले दिनमा ५० रुपैयाँ कमाउँथे । चिया बाँड्ने र ब्याकस्टेज काम गर्दै उनले आफ्नो संघर्ष जारी राखे ।

‘म आत्मविश्वासी थिएँ र संघर्षबाट डराउँदिनँ, तर ठूलो सहरले डर त दिएको थियो । मलाई थाहा थियो, यदि म घर फर्किएँ भने अभिभावकहरूले फेरि यहाँ आउन दिँदैनथे’, यशले एक अन्तर्वार्तामा भनेका छन् । फिल्ममा प्रवेश गर्नुअघि यशले टेलिभिजनमा पनि काम गरेका थिए । उनको पहिलो फिल्म ‘जम्बादा हुडुगी’ हो । त्यसपछि ‘ड्रामा’, ‘मिस्टर एन्ड मिसेज रामचारी’ लगायत फिल्ममा अभिनय गरे । तर उनलाई वास्तविक लोकप्रियता भने ‘केजीएफ’ फिल्मबाट प्राप्त भयो ।

आज यश कन्नड फिल्म उद्योगका सबैभन्दा महँगा अभिनेतामध्ये एक मानिन्छन् । फाइनान्सियल एक्सप्रेस का अनुसार यशको कुल सम्पत्ति करिब ५० करोड रुपैयाँ रहेको छ । यश हाल आफ्नो आगामी फिल्म ‘टक्सिक’का कारण चर्चामा छन् । उक्त फिल्म १९ मार्च २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ । साथै, उनी बलिउडको प्रतीक्षित फिल्म ‘रामायण’ मा पनि देखिनेछन्, जहाँ उनले रावणको भूमिका निर्वाह गर्दैछन् ।

कमेन्ट गर्नुहोस्