फिल्म । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अभिनय रहने फिल्म ‘डिसेम्बर फल्स’ को शुभसाइत पोखरामा गरिएको छ । आइतबार पोखराको बिन्दवासिनी मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको फिल्मको छायांकन आजबाट सुरु भएको छ । छायांकन अगावै फिल्मको युट्युब र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट युट्युब डिजिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले खरिद गरेको छ ।
कलाकार, बिषयवस्तु र टिम राम्रो लागेकाले अष्ट्रेलियाको प्रदर्शन अधिकार किनेको एजुकेसन एन्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए । माघ ५ बाट छायांकन सुरु भएको फिल्मलाई आउँदो वर्षको साउन १ गते प्रदर्शनमा ल्याइने निर्माता रामप्रसाद रिजालले बताए । फिल्ममा आर्यन र उपासनासँगै सलोन बस्नेत,शिवहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतको अभिनय रहने छ ।
प्रबिण झाको निर्देशनमा तयार हुने फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेका छन् । बीपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्ममा महेश आर गुप्ताको छायांकन रहनेछ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको अधिकांश दृश्यको छायांकन पोखरामा हुनेछ ।