‘फिल्म निर्माणमा बढिरहेको लागत बारे सोच्ने बेला आएको छ’ : अध्यक्ष खड्का

फिल्म। केही समयअघि तेलुगु फिल्म उद्योगले सुटिङ नै बन्द गरेर फिल्म निर्माणमा बढिरहेको लागतको विषयमा छलफल गरेको थियो। कोरोना महामारीपछि धान्नै नसक्ने गरी निर्माणको खर्च बढेको र हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि निर्माताहरू एकजूट भएर समधान निकालेका थिए। कलाकारले दैनिक पैसा नपाउने र हलमा रिलिज भएपछि कम्तीमा आठ हप्तापछि मात्र ओटीटीमा रिलिज गर्न सकिने निर्णय गर्दै ‘उद्योग र प्रणालीलाई बलियो बनाउन’ कदम चालेको निर्माताले बताएका थिए ।

नेपाली फिल्मको अवस्था पनि उस्तै छ। निर्माण लागत बढेको छ। यद्दपी बजार विस्तार भएको छैन। कलाकारको पारिश्रमिक बढेको, प्राविधिकले लिने ज्याला बढेको, प्रदर्शनमा खर्च बढेको कारण निर्माताले लगानी उठाउन मुस्किल छ। नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले आफू खुसी पारिश्रमिक निर्धारण गरे छायांकन रोक्नेसम्मको सङ्केत गरे। ‘कलाकारले लिने पारिश्रमिक बजारमैत्री हुनुपर्दछ। फिल्म फ्लप हुँदा निर्मातालाई धेरै आर्थिक क्षती भईरहेको छ। यसबारे अन्य पक्षले पनि गम्भीर भएर मुल्याङ्कन गर्न जरुरी छ’, अध्यक्ष खड्काले भने,’हामी यस विषयमा छलफलमै छौँ। कडा निर्णय गरेर अगाडीसमेत बढ्न सक्छौँ।’

निर्मातालाई निरन्तर रहने वातावरण सिर्जना गर्न कलाकारसँगै प्राविधिक तथा हल सञ्चलाक पनि साथमा रहनु पर्ने उनको भनाइ छ। कलाकारलाई उच्च पारिश्रमिक दिएर लगानी बढाउने कार्य रहरमा बनेका निर्मातामार्फत भएको अध्यक्ष खड्काले स्वीकार गरे । उनले भने, ‘रहरिया निर्माताले गर्दा निरन्तर फिल्म बनाउनेलाई समस्या परिरहेको छ । यसबारे सम्बन्धित सङ्घसंस्थाले सोच्नै पर्छ ।’ उनले यसबारे सङ्घले आधिकारिकरूपमा निर्णय गरेर नै अगाडि बढ्ने जानकारी दिए । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ ।

कमेन्ट गर्नुहोस्