‘हनुमान अंश’ ले नेपालमा कति कमायो ?

फिल्म । गएको अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा अप्रत्याशित प्रदर्शन गरिरहेको छ । प्रदर्शनको पहिलो साता निकै सुस्त देखिएको यो फिल्म दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसको दौडबाट बाहिरिने अनुमान गरिएको थियो । तर, तेस्रो र चौथो सातामा फिल्मको कमाइमा आएको उछालले सबैलाई आश्चर्यमा पारेको छ ।

फिल्मले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा करिब १० लाख भारु मात्र कमाएको थियो। पहिलो सातामा फिल्मको कमाइ करिब १ करोड ८ लाख भारुमा सीमित भयो। दोस्रो सातामा भने कमाइ घटेर करिब ४० लाख भारुमा खुम्चिएको थियो ।

तर, तेस्रो सातादेखि फिल्मको व्यापारमा उल्लेख्य सुधार आयो। तेस्रो सातामा मात्रै फिल्मले करिब १० करोड ४० लाख भारु कमाएको बताइएको छ। चौथो साताको आइतबार फिल्मले १२ करोड ७५ लाख भारु कमाएको थियो। त्यसको भोलिपल्ट सोमबार पनि फिल्मले ५ करोड ५० लाख भारु कमाएको जनाइएको छ।

नेपालमा पनि ‘हनुमान अंश’ ले शानदार सुरुआत गरेको छ । सेप्टेम्बर ११ मा नेपाल भित्रिएको फिल्मले दर्शकको राम्रो साथ पाएको छ । फिल्मले शुक्रबार र शनिवार अर्थात् दुई दिनमा ८३ लाखको ग्रस कमाइ गरेको छ । फिल्मलाई २१ हजार २ सय ९ जनाले हेरिसकेका छन् । सकारात्मक ‘माउथ पब्लिसिटी’ले फिल्मको व्यापार आगामी दिनमा नेपालमा पनि बढ्ने सङ्केत देखिएको छ ।

विशाल चतुर्वेदीको निर्देशनमा बनेको ‘हनुमान अंश’ बाबा नीम करौलीको जीवनबाट प्रेरित फिल्म हो। फिल्ममा बाबाको भूमिकामा शोभिनाव सत्य देखिएका छन्। फिल्ममा विहान शेज, चन्दन के. आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी, गुलशन पाण्डे, भगवानदास पटेल र राजीव मिश्रा लगायत कलाकारको अभिनय छ।

कमेन्ट गर्नुहोस्