
फिल्म । नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा भागदौड र ब्यस्तताबीच सकारात्मक ऊर्जाको संचार गर्ने उद्देश्यले घरेलु फिल्म र टेलिभिजनका ७० जना कलाकारले दक्षिणकालीमा ध्यान एवं योगासन अभ्यास गरेका छन् । महर्षी वैदिक फाउण्डेसनसँगको सहकार्यमा आयोजनामा ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकालीमा संयुक्त योगाभ्यास गरिएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले बताए ।
गौरी मल्ल, रवीन्द्र खड्का, लय संग्रौला, शिवहरि बैरागीसहितका कलाकार ध्यान कार्यक्रममा सहभागि थिए । कलाकारको स्वास्थ्य तथा विचारमा आउने नकारात्मक भावनालाई वैदिक पद्धतिका माध्यमले सकारात्मक ऊर्जाको उजागर गर्ने उद्देश्यले कार्यक्रम राखिएको सङ्घका अध्यक्ष निरौलाले जानकारी दिए ।
कलाकारहरुको ताजगीको लागि बेलाबखतमा यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने धाराणा सहभागीले राखेका थिए । कलाकार संघले यस अघिपनि सदस्यको व्यक्तित्व विकासका लागी योग ध्यान, जीवन विज्ञानका विभिन्न आयाम, बिमारी पर्दा अस्पताल लैजाने, औषधोपचारमा विशेष छुटका साथै ‘कलाकार र आम सञ्चार’ विचार गोष्ठि लगायतका विभिन्न कार्यक्रमको संचालन गर्दै आइरहेको छ ।